जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १९:५९

शंकास्पद बिल देखिएपछि १७ लाख बढिको लत्ताकपडा प्रहरीले लियो नियन्त्रणमा


शुभ नारायण कामती\ सिरहा, मंसिर ३

सिरहा जिल्ला प्रहरीले पूर्व पश्चिम राजमार्गमा लताकपडा बोकेको एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २ च २७८४ नम्बरको पिकअप भ्यानमा राखिएको लत्ताकपडा मंगलवार सिरहाको ईलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । १७ लाख २६ हजार एक सय ७४ रुपैया मूल्यका उक्त लत्ताकपडाको बील शंकास्पद भेटिएपछि नियन्त्रणमा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा प्रहरी टोलीले राखेको चेक प्वाईन्टमा पिकअप गाडी रोकेर चेकजाँच गर्दा ३५ वटा पोकामा रहेका सुति साडी, कढाई साडी, वायल कपडा सहितका लत्ताकपडाका समानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) उमाशंकर पंजियारले बताउनु भयो । ३५ पोकामा रहेका लत्ताकपडाको बिल शंकास्पद भेटिएपछि प्रहरी टोलीले लत्ताकपडा, पिकअप र गाडी चालक सुनसरी जिल्लाको गढी गाउँपालिका ४ का २१ वर्षीय सुर्यलाल उराउलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पंजियारले बताउनु भयो ।

स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स बिराटनगर महानगरपालिका १४ को बिल पुर्जा ६ थान र राजस्व अनुसन्धान बिभागको अनलाईन बिल पुर्जा १ थान रहेकोले शंकास्पद लागेर पक्राउ गरी थप अनुसंधानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी प्रमुख पंजियारले जानकारी दिनुभयो । उक्त पिकअपमा विराटनगरवाट लत्ताकपडा विभिन्न बजारमा पुर्याउँदै धनुषातर्फ जाने क्रममा बन्दिपुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।