जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १७:५४

जनार्दन शर्माको घोषणा : म पार्टी महासचिवको प्रस्तावको पक्षमा छु


काठमाडौं, मंसिर ४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले आफू महासचिव विष्णु पौडेलले राखेको प्रस्तावको पक्षमा रहेको बताउनुभएको छ । उहाँले पार्टीका महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठकमा आम कार्यकर्ताको भावना व्यक्त भएको बताउनुभएको हो । उहाँको भनाईलाई शर्माले सामाजिक सञ्जालमा यसरी उल्लेख गर्नुभएको छ, ‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलो पटक व्यक्त भयो। महासचिव कमरेडलाई धन्यवाद। बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरुरी छ। अब ढुंगामाथि पानी पर्‍यो रुझ्यो मात्र भिजेन….सँग कुरा गर्‍यो सुन्यो मात्र बुझेन को अवस्था अन्त हुनेछ।’

पार्टी सचिवालय बैठकमा महासचिव पौडेलले आफूहरू असफल भएकोले सामूहिक राजीनामा गर्न प्रस्ताव गर्नुभएको थियो । सचिवालय कमिटीले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको र यसको भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै पौडेलले भन्नुभएको थियो, ‘हामीले सरकार पनि चलाउन सकेनौं। पार्टी पनि चलाउन सकेनौं । यसरी चलाउनुभन्दा सामूहिक राजीनामा दिऊँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।’ नेता शर्माले महासचिव पौडेलको उक्त प्रस्तावको पक्षमा संस्थागत रूपमा बोल्न आवश्यक रहेको बताउनुभयो ।