जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १८:१०

ढकाल प्यानलको विजयी यात्रा सुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित


मोरङ, मंसिर ४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । ढकाल समूहका उम्मेदवारहरु प्रदेश–१ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फ द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुनुहुन्छ ।

विराटनगर निवासी उहाँको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिइएको छ । मोरङका अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो । ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।
आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध हुनुभएको हो । त्यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल ईन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुनुहुन्छ ।

अग्रवालले एशोसिएटतर्फबाट द्विराष्ट्रिय च्याम्बर अन्तर्गत निर्विरोध हुनुभएको हो । उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा जानुभएको थियो । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए । यहीं मंसिर ११(१३ मा काठमाडौंमा आयोजना हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिनुभएको छ ।