काठमाडौं, मंसिर ४ । सरकारले संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गरेको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले प्रहरीको ओएन्डएम स्वीकृत गरेको हो ।
दरवन्दी संरचना स्वीकृत भएसँगै अब नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) थपिने छन । नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण गत असोजमै भएको थियो । ओएन्डएम स्वीकृत भएसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुनेछ । जहाँ अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी कायम भएको छ ।
हालसम्म तीन जना एआइजीको मात्र दरबन्दी थियो । नयाँ दरबन्दी कायम भएसँगै प्रहरी अधिकारीहरूलाई बढुवाको बाटो खुलेको छ । एआइजी प्रतिस्पर्धामा डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीलगायत हुनुहुन्छ । यस्तै, पाँच डिआइजीहरूमध्ये एक जनाका लागि साइबर ब्युरोमा दरबन्दी कायम गरिएको छ । बाँकी चार जना डिआइजी प्रधान कार्यालयमा रहनेछन ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको १५ दिनभित्र प्रहरी किताबखानामा पद दर्ता गर्नुपर्ने नियम छ । किताबखानामा पद दर्ता भएपछि औपचारिक रूपमै प्रहरीमा दरबन्दी कायम हुनेछ ।
नयाँ संरचनासँगै नेपाल प्रहरीमा अव १९ जना डिआइजी दरबन्दी कायम गरिएको छ । हाल ११ जना डिआइजी छन । संख्या बढेर आएपछि अब ८ जना प्रहरी नायब महानिरीक्षक बढुवा गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्