जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १३:२३

एसियन हाइवेले पूर्वमा देखाएको आश


काठमाडौं, मंसिर ५

एसियाली राष्ट्रबीच सडक सञ्जाल विस्तार गर्ने सहमति अनुरूप ‘एसियन हाइवे’ केही महिना अगाडी नेपालसम्म आइपुगेको छ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तारको काम सम्पन्न गरेको हो ।

‘एसियन हाइवे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीण स्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा व्यवसायीको छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा नेपालको पूर्वीद्वारस्थित मेची नदीमा चार लेनको ‘मितेरी पुल’ समेत बनेको छ। मेची नदीमा चार लेनको पुल निर्माणसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउनु भयो ।

करिब डेढ अर्ब भारतीय रुपैयाँ ऋण सहयोगमा भारतले ६ लेन सडकसहित नेपाल–भारत सीमास्थित मेची नदीमा ७ सय ९० मिटर लामो पुल बनाएको छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मेची नदीमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । २०७४ फागुनबाट औपचारिक रूपमा पुल निर्माणको काम सुरु भएको थियो । नेपाल भारत सीमाको मेची नदीमा चार लेनको पुलसँगै काँकडभिट्टा बसपार्कसम्म चार लेनको फराकिलो सडक निर्माण भएको छ । जसलाई ‘एसियन हाइवे’ को एप्रोच रोड भनिएको छ ।

उक्त सडकमा ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न भएसँगै साँझमा झन् आकर्षक र झलमल्ल देखिन्छ, काँकडभिट्टा । भारतले सीमावर्ती पश्चिम बंगालमा दुई वर्षअघि मात्रै एसियन हाइवे निर्माण गरेको थियो । उक्त सडक बनेसँगै काँकडभिट्टाबाट २८ किलोमिटर दूरीमा पर्ने सिलगुडी सहजरूपमा आवतजावत गर्न सकिने भएको छ ।

नेपालका पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छन् । पूर्व–पश्चिम राजमार्गलाई पनि चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको छ । एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।