जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १७:४९

सडकमा खाल्डो देखेपछि जंगिए शहरी विकास मन्त्री


काठमाडौं, मंसिर ५

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सडकका खाल्टो पुर्न निर्देशन दिनुभएको छ । आज काठमाडौं धाबीखोला करिडोरको अनुगमन गर्न निस्किनुभएका उहाँले सडकभरी खाल्डाखुल्डी देखेपछि निर्देशन दिनुभएको हो । साथमै रहेका कर्मचारीलाई उहाँले प्रश्न गर्नुभयो, ‘मान्छेको ज्यान लिनसक्ने यस्तो खाल्डा पुर्न केले रोक्यो ?’

चावहिलस्थित ओम अस्पताल पारी खुला मंगाल देखेपछि उहाँले भन्नुभयो, ‘अहो ! बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?’ करिडोर निर्माण र मर्मतको जिम्मा उपत्यका विकास प्राधिकरणलाई छ । अवलोकनमा क्रममा प्राधिकरण आयुक्त भाइकाजी तिवारी पनि साथमै रहेका थिए । मन्त्री श्रेष्ठले यस्ता खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको हो ।

‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौं सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन,’ उहाँले थप्नुभयो । मन्त्रीको निर्देशनपछि तिवारीले बढी खाल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिनुभयो । अवलोकनको क्रममा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।