जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार २०:०३

यी हुन मन्त्रिपरिषदले गरेका नियुक्ति-सरुवा-बढुवादेखि बिदेसी निश्काशनसम्मका निर्णय


काठमाडौं, मंसिर ५ । नेपाली सेनामा जर्नेलको बढुवादेखि अन्य बिभिन्न नियुक्ति तथा पदस्थापनको निर्णय गरेको छ । मन्त्रिपरिषदको कात्तिक २९ र मंसिर ३ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७७, सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, स्वास्थ्य संस्था प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरिएको छ ।

यस्तै, सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल कानून आयोगको सचिवमा लीलादेवी गड्तौलालाई पदस्थापन गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गड्तौलालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी आयोगको सचिवमा पदस्थापन गरेको हो । यसैगरी, डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्राकित प्रथम (प्राविधिक) श्रेणीमा बढुवा गरेको छ । यसैगरी, नेपाली सेनाका सहायक रथी सन्तोष कुमार ढकालसहित दुई सहायक रथी र चार महासेनानीको बढुवा गरिएको छ ।

त्यस्तै, आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ । यसैगरी, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिमा आर्थिक वर्ष २०७७÷७८ का लागि अधिकृतस्तरका दुई अस्थायी पदको दरबन्दी स्वीकृत गरिएको छ ।

दुई मलुकका तीन बिदेसी नागरिक निष्काशित

काठमाडौं, मंसिर ५ । सरकारले गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।