जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १७:२५

कार्यकर्तालाई साँक्षी राखेर बामदेव गौतमको घोषणा : अरुको कुरा नसुन्नोस, म कुनैपनि गुटमा छैन


दाङ, मंसिर ६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिनु भएको छ । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लाग्नु भएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनु भएको हो । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको जिकिर गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनु भयो ।

‘कस्ले के भन्छन, त्यतातिर नलाग्नोस अरुको कुरा नसुन्नोस, म कुनैपनि गुटमा छैन,’ उपाध्यक्ष गौतमले भन्नुभयो । आफूलाई आफ्नो स्वार्थका लागि हरेक पटक गुटमा जोडने गरेको पनि उहाँले बताउनु भयो ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताउनुभयो । आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।