जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १८:५५

‘पार्टी एकता जिन्दाबाद’ भन्ने कार्यकर्तालाई कारवाही गर्न नेकपाका वरिष्ठ नेताद्वय खनाल र नेपालको माग


चितवन, मंसिर ६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को चितवनमा भएको घटनाले विवाद ल्याएको छ । विकास निर्माण सम्वन्धि काम भन्दै आयोजना गरिएको कार्यक्रममा केन्द्रको विवाद तल ल्याएको भन्दै नेकपाकै कार्यकर्ताले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको विरोध गरेका थिए ।

विरोध गरिरहेको सार्वजनिक भएको भिडियोमा सुनिएअनुसार उनिहरुले ‘पार्टी एकता जिन्दबाद’, ‘गुटपार्टी मुर्दाबाद’ भन्दै नारा लगाएको देखिन्छ । नेता पाण्डेले मञ्चमा बोलिरहेका बेला केही युवाहरुले आफुहरु बसेकै ठाउबाट सो नारा लगाएको स्पष्ट देखिन्छ । न त कसैले पाण्डेमाथी हातपात गरेका छन्, न त पाण्डेको नाम लिएर मुर्दाबाद नै लगाएका छन् ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले केन्द्रको विवाद तल ल्याएको भन्दै कार्यकर्ताले प्रतिवाद गरेको बताउनु भयो । ‘कार्यक्रममा म पनि सहभागी थिएँ’, उहाले भन्नुभयो, ‘उहाँ (सुरेन्द्र पाण्डे)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकै कारण समस्या सिर्जना भयो, स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन भनेर बताइरहँदा तलबाट कार्यकर्ताले नाराजुलुस गरेका हुन् । पार्टी केन्द्रको विवाद यहाँ किन ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।’ मेयर बरालले कोही कसैविरूद्ध जिन्दावाद, मुर्दावादको नारा नलागेको बरु पार्टी एकता जिन्दावाद भनिएको जिकिर गर्नुभयो ।

यसैबीच, नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पाण्डेमाथी दुव्र्यवहार भएको भन्दै कारवाही गर्न माग गर्नुभएको छ । नेता नेपालले अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भत्र्सना गर्नुभएको छ ।

यस्तो छ उहाको विज्ञप्ती

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसककस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।

यस्तो छ खनालको बक्तव्य

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क। सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।
कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।
कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु ।
पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।
झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)