जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १२:१३

सुत्केरीको शल्यक्रियाका क्रममा मृत्यु भएपछि चिकित्सक फरार


सिरहा, मंसिर ७

शनिबार राती सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । मृत्यु हुनेमा सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन् ।

उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राती शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् ।

आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।