जनता टाइम्स

७ मंसिर २०७७, आईतवार २०:४१

सुरेन्द्र पाण्डेको अगुवाईमा पोखरामा नेपाल पक्षको भेला


पोखरा, मंसिर ७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपाल पक्षधर स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पोखरामा आइतबार एकपक्षीय भेला आयोजना गर्नुभएको छ ।

आइतबार बिहान बुद्ध एयरको जहाजमा पोखरा पुग्नु भएका पाण्डेले लेकसाइडको होटल माउन्ट कैलाशमा अगुवा नेता कार्यकर्ताहरुको भेला गर्नुभएको हो । भेलामा नेपाल पक्षधर गण्डकी प्रदेशका अगुवा नेताहरु सहभागी थिए । नेता पाण्डे पोखरा आएका मौकामा सामान्य भेटघाटमात्रै गरिएको केन्द्रीय सदस्य सीता गिरी ओलीले बताउनु भयो ।

‘समसामयिक विषय, पार्टीको सचिवालयमा पेस भएको प्रस्ताव, यिनै यिनै विषयमा कुराकानी भएको हो,’ उहाले भन्नुभयो, ‘कुनै भेला भएको होइन, उहाँ पोखरा आउनुभएको रहेछ, यसो सामान्य भेटघाट मात्रै हो ।’

भेलामा गण्डकीका ११ मध्ये अधिकांश जिल्लाका नेपाल पक्षका अगुवा नेता सहभागी थिए । मनाङ, मुस्ताङ, लमजुङ र गोरखाका नेता भने आएनन् । मनाङ, मुस्ताङमा नेपाल पक्षधर नेता नै छैनन् ।

पाण्डेले लेकसाइडमा भेला गर्न लागेको थाहा पाएर केपी ओलीपक्षधर केही विद्यार्थी होटलमा गएको भए पनि प्रहरीले बाहिर निकालेको थियो । ‘व्यक्ति हेरी हेरी छानेरमात्रै भित्र पसाइएको थियो,’ प्रहरीबाट बाहिर निकालिएका ती विद्यार्थीले भने ।