जनता टाइम्स

८ मंसिर २०७७, सोमबार ०९:०२

प्रधानमन्त्री आज ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुँदै


काठमाडौँ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उहाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । ती कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । यस्तै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आजै झापा पुग्दै हुनुहुन्छ ।

झापामा मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण योजनाहरुका बारेमा जानकारी लिनुहुने छ। मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वालसमेत सहभागी हुने छन् ।