जनता टाइम्स

१० मंसिर २०७७, बुधबार ११:१५

चन्द्रागिरि हिल्सले स्थानीयलाई मंसिर १७ देखि आईपीओ बिक्री गर्ने


काठमाडौं, मंसिर १०

चन्द्रागिरि हिल्सले मंसिर १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ तथा मकवानपुरको थाहा नगरपालिका ९ र १० र इन्द्रसरोवर गाउँपालिका ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् । उक्त कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम् ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्कासनमा ल्याएको सेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । व्यावसायिक घराना आईएमई समूहको प्रवर्द्धनमा सञ्चालित कम्पनीले काठमाडौंको चन्द्रगिरि नगरपालिकामा केवलकार र रिसोर्ट सञ्चालन गरिरहेको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कात्तिक २८ गते स्थानीय र सर्वसाधारणका लागि गरी कुल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो । स्थानीयलाई कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।