जनता टाइम्स

१० मंसिर २०७७, बुधबार ११:३८

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु


बागलुङ, मंसिर १०

ढोरपाटन नगरपालिका–२ मा भएको ट्याक्सी दुर्घटनामा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको मृत्यु भएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध।१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा मंगलबारराति खसेको थियो ।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो ।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मङ्गल गुरुङले बताउनुभयो । हिजै राति सोही स्थानमा लु.२च ९११९ नम्बरको पिकअप जिप पनि दुर्घटनामा परेको थियो । जिपका चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । जिपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ ।