जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १४:४९

चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला नगरका अध्यक्षको भेला, पुलको रुपमा काम गर्छु : ढकाल


काठमाडौं, मंसिर १०

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा वसेर काम गर्न सक्ने बताउनुभयो । ‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उहाँले भन्नुभयो, ‘म चुनाव जित्नका लागि मात्रै नजिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भएपनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुभयो । ‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उहाँले थप्नुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए । भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकाल जस्तो व्यक्ति नेतृत्वमा पाएको र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताउनुभएको थियो ।

कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बतानुभएको थियो । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ । त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिनुभएको थियो ।