जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १८:४५

बलात्कार आरोपी सिद्धबाबालाई रिहा गर्न सर्वोच्च अदालतद्वारा अस्विकार


काठमाडौं, मंसिर १२

सर्वोच्च अदालतले बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई रिहा गर्न अस्विकार गरेको छ । बिराटनगर उच्च अदालतले गिरीलाई थुनामा राख्न गरेको आदेशविरुद्ध सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशलाई सदर गरेको हो । २२ असोजमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै गिरीको मुद्दामा ‘कैफियत’ प्रतिवेदन झिकाउन आदेश दिएको थियो । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासको आदेश अनुसार गिरी पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध गिरीले सर्वोच्चमा निवेदन दिएका थिए ।

सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ घर भई सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने गिरीमाथि उनकै एक अनुयायी महिलालाई बलात्कार गरेको अभियोग छ । ४ कात्तिक २०७६ मा बराहक्षेत्र–१ स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले गिरी विरुद्ध ८ मंसीर २०७६ मा किटानी जाहेरी दिएकी थिइन् ।