जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार ०३:५७

महाधिवेशन बाहिरबाट पार्टी नेतृत्व र चुनावभन्दा बाहिरबाट प्रधानमन्त्री परिवर्तन गर्ने सोच नै मुख्य समस्या हो : प्रदीप ज्ञवाली (अन्तर्वार्ता)


काठमाडौं, मंसिर १८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनबिनै पार्टी नेतृत्व परिवर्तन र चुनाव अगावै सरकारको नेतृत्व परिवर्तन गर्ने गलत सोच नै नेकपाभित्र अहिले देखिएको बिवादको मुख्य कारण रहेको प्रष्ट पार्नुभएको छ ।

एपिवान टेलिभिजनको दि ब्राभो डेल्डा नामक कार्यक्रममा पत्रकार भुसन दाहालसँगको कुराकानीमा नेकपा स्थायी समितिका सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले सो तथ्य बाहिर ल्याउनु भएको हो । ‘नेतृत्व परिवर्तनको थलो महाधिवेशनबाट बनाउनु पर्छ, महाधिवेशन बाहिरबाट नेतृत्व परिवर्तन, चुनावभन्दा बाहिरबाट प्रधानमन्त्री परिवर्तन, बिकृतीको स्रोत यही हो । दुर्भाग्यवस हामी नजानिदो गरी त्यही स्रोतमा पुगेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘सिष्टमबाट नेतृत्व परिवर्तन गर्छाैं कि आफूलाई पायक पर्यो, अलिकति सजिलो भयो, आफ्नो पक्षमा संख्या देखियो भने गरिहाल्छौं ? यो मुख्य प्रश्न हो ।’

नेकपाका नेता कार्यकर्ता मात्रै होइन, आम नागरिकलाई नेकपाभित्रको बिवाद र प्रयोग गरिएका भाषा नपचेको तथ्य पनि नेता ज्ञवालीले खलाउनु भयो । पार्टीभित्र हुनेछलफल मित्रतापुर्ण हुनु पर्नेमा सत्रुतापुर्ण रुपमा आएको र प्रयोग गरिएका भाषाले मर्यादाका सवै सीमा मिचेको उहाँको भनाई छ । कात्तिक २८ मा अध्यक्ष प्रचण्डले प्रयोग गर्नुभएको भाषा सहयोद्धामाथि प्रयोग हुनै नसक्ने गरी आएको उहाँको भनाई छ । ‘प्रचण्डले कात्तिक २८ गते दस्तावेज गरेर जे भाष प्रयोग गर्नुभयो, त्यहाँ प्रयोग गरिएको भाषा आफ्ना सहयोद्धाकानिम्ति त प्रयोग हुँदैन, यत्ति त मैले भन्नैपर्छ,’ ज्ञवालीले भन्नुभयो ।

उहाँले सचिवालयमा मुलुकको समस्या समाधान भन्दा आफ्नो स्वार्थपुर्तिका लागि मात्रै छलफल हुनु अत्यन्तै दुर्भाग्यपुर्ण रहेको बताउनु भयो । ‘अनुमति पाउने हो भने सचिवालयको सवै बैठकको माइन्यूटहरु हेर्न मन छ मलाई, नेताहरुले देशको समस्याको बिषयमा कतिवटा छलफल गर्नुभयो होला ? मुलुक र जनताको जल्दाबल्दा समस्यामा कतिवडा एजेण्डामा छलफल गर्नुभयो होला ?’