जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १६:०३

राष्ट्रसंघबाट हट्यो गाँजामाथिको प्रतिबन्ध, अभियान चलाउने यी सत्तारुढ सांसद बने निकै खुशी


काठमाडौं, मंसिर १८ । संयुक्त राष्ट्रसंघले लागूऔषधको सूचीमा रहेको गाँजालाई औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेपछि प्रतिबन्ध फुकुवा गर्ने बाटो खुलेको भन्दै अभियान चलाउने सांसदहरु खुसी भएका छन ।

नेकपाका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा र बागमति प्रदेशका सांसद केशव स्थापित गाँजा लागू औषध नभएको भन्दै अभियान चलाउनु भएको थियो । राष्ट्रसंघले मतदानबाटै गाँजा लागू औषध नभई औषधीय बनस्पतिको मान्यता दिएपछि तामाङसहितका अभियानमा लागेका नेताहरु खुसी हुनुभएको हो ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै पूर्वमन्त्री तामाङले अब नेपालमै कानून बनाएर प्रतिबन्ध फुकुवा गर्दै नियमनको बाटोमा जानुपर्ने बताउनु भएको छ । यसअघि सांसद तामाङले गाँजामाथिको प्रतिबन्ध फुकाउन र नियमनको कानूनी व्यवस्था गर्न संसदमा गैरसरकारी विधेयक दर्ता गराउनु भएको थियो । ‘गाँजा खेतीको कानूनी मान्यताको लागि हामीले जुन बहस सञ्चालन गर्दै संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौं । अब यसको लागि बाटो खुल्ला भएको छ,’ तामाङले लेख्नुभएको छ, ‘हरेक नेपालीलाई र सिङ्गै राष्ट्रलाई धनी बनाउन सक्ने गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं ।’

गाँजाको प्रतिबन्ध हटाउनेबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्व स्वास्थ्य संगठनले ३ वर्षअघि संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै गाँजालाई लागूऔषधको सूचीबाट हटाएर औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राख्न आग्रह गरेको थियो । राष्ट्रसंघले यसको प्रक्रिया टुंग्याउँदै बहुमतका आधारमा गाँजालाई औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेको हो । नेपालले गाँजालाई लागूऔषधको सूचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो । मतदानमा गाँजा औषधी रहेको पक्षमा २७ र बिपक्षमा २५ मत परेको थियो । नेपालले औषधीय गुण रहेको पक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगको सचिवालयमा रहेका ५३ सदस्य राष्ट्रमध्ये २७ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका हुन । नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले पक्षमा मतदान गर्नुभएको हो । ‘अब हाम्रो अभियान संसदमा दर्ता भएको कानूनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको वनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनिसकेपछि अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको छ । यो अवसरको उपयोग गर्दै अब छिटोभन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं,’ पूर्वमन्त्री तामाङको भनाई छ ।