झापा, मंसिर १८
अज्ञात समूहले झापाको मेचीनगर नगरपालिकाको उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी जलाउने प्रयास गरेको छ । उपप्रमुख उप्रेती गाडीभित्रै रहेको बेला आज आगजनीको प्रयास भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।
गाडी जलाउन खोज्ने दुई युवाले आफूहरू नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उहाँले जानकारी दिनुभयो ।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर कार्यालयतर्फ फर्किरहेको बेला दिउँसो करिब ३ बजे पूर्व–पश्चिम राजमार्गको धाइजन र चारआली सडक खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको थियो ।
पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई गाडी हुइँक्याउन लगाउनुभएको थियो । गाडी हुइँक्याउँन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेर्स्याएर गाडीको बाटो छेकेको उपप्रमुख उप्रेतीले बताउनुभयो । ‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचेँ’, उहाँले भन्नुभयो । घटनाबारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको पनि उहाँले सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्