जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १७:०२

‘मेलम्चीको उद्घाटन अब कृष्णप्रसाद भट्टराईलाई ल्याएर गराउने ?’


तनहुँ, मंसिर १९

तनहुँ क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचनमा विजयी हुनु भएका नेकपाका सांसद किसान श्रेष्ठले विकास निर्माणका काम कसैको व्यक्तिगत रकमले नभएको बताउनु भएको छ । उहाले मैले बजेट ल्याएको मैले नै उद्घाटन गर्न पाउनुपर्छ भन्ने अड्डी गलत भएको बताउनु भयो ।

गृहजिल्लामा आज पत्रकार सम्मेलन गरी उहाले कुनै पनि विकास निर्माणको बजेट कसैको घरबाट नभई नेपाल सरकारको हुने स्पष्ट पार्नुभयो । ‘मैले ल्याउने बजेट पनि मेरो घरघरेडी बेचेर ल्याउने होइन्, रामचन्द्र पौडेलले ल्याएको बजेट पनि उहाको पोखराका घरघरेडी बेचेर ल्याएको होइन्’, उहाले भन्नुभयो, ‘सरकारको बजेट ल्याएपछि सम्वन्धित मन्त्रालयसँग अनुमति लिएर उद्घाटन गर्नुपर्छ ।’

‘जसले बजेट ल्याएको उसैले गर्ने हो भने यसै महिना मेलम्चीको उद्घाटन हुदैछ । त्यो कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएको हो, अब के कृष्णप्रसाद भट्टराइलाई ल्याएर उद्घाटन गराउने’, पौडेललाई श्रेष्ठको प्रश्न थियो । सांसद श्रेष्ठले पुल उद्घाटनको विषय सम्बन्धित मन्त्रालयलाई थाहा नदिई, जनप्रतिनिधिलाई वेवास्था गरेर निजी जस्तो गरी उद्घाटन गर्ने कार्यको विरोध गरेको स्पष्ट पार्नुभयो । ‘त्यस्ता २० औं पुल नेकपाको नेतृत्वमा हामी बनाउदै छौं, इच्छा लाग्छ भने आउनुहोस्, तपाई कै हातबाट उद्घाटन गराउन हामी तयार छौं’, नेता पौडेललाई आग्रह गर्दै उहाले भन्नुभयो ।

सांसद श्रेष्ठले पौडेलले तनहुँका जनतालाई भ्रममा राख्ने काम गरिरहेको पनि बताउनु भयो । भाषणका क्रममा भानु प्राणी उद्यान आफुले ल्याएको तर अहिले कम्युनिष्टहरुले बन्द गर्न लागेको भनेर भ्रम फैलाएको बताउनु भयो । ‘जग्गा अधिकरण, डिपिआरको काम केही नगरी बस्ने, कर्मचारीलाई तलबसम्म खुवाउन नसक्ने अनि बन्द गर्न लाग्यो भन्ने’, उहाको भनाई छ । सो कार्य अहिले आफुले बढाईरहेको उहाले बताउनु भयो ।

यसैगरी उहाले कांग्रेसका नेता प्रदीप पौडेलको सम्पत्तिको आयस्रोतमाथी गम्भिर प्रश्न उठाउनु भएको छ । उहाले जनमतको खिल्ली उडाउने उहाहरुलाई अधिकार नभएको भन्दै त्यस्ता व्यक्तिले प्रजातन्त्रको नाम नलिएकै राम्रो हुने बताउनु भयो ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रेष्ठलाई अनेक कारणले माननीय भएको बताएको प्रसंगमा उहाले ३७ हजार बढि मत ल्याएकाले तनहुँका जनताको अपमान नगर्न आग्रह गर्नुभयो । उहाले आफ्नो सम्पत्ति छानबिन गर्न समेत माग गर्नुभएको छ । ‘म त २०७४ सालको निर्वाचनमा पनि ४ करोडको गाडी चढेर मत माग्न हिडेको मान्छे हुँ, मेरा बाजे, बुबा र म विगत लामो समयदेखी व्यापार पेशमा संलग्न हौं’, सांसद श्रेष्ठले अगाडी भन्नुभयो, ‘उहाको टोखा नगरपालिका वडा नम्वर ८ मा रहेको करिव आठ आनामा बनेको घर र लाखौं रुपैयाँको गाडी कसरी चढेर हिड्नु भएको छ । उहाको व्यापार के हो ? उहाको आम्दानी के हो ?’

उहाले सडकबाट दुवै जनाको सम्पत्ति छानबिन गर्न माग समेत गर्नुभयो । ‘म चुनौती दिन चाहान्छु, सडकबाट छानबिन गरौं । किसान श्रेष्ठकोे कुनै अवैध सम्पत्ति छ भने म तुरुन्त राष्ट्रियकरण गर्न म तयार छु’, उहाले पत्रकार सम्मेलनमा भन्नुभयो,‘तर, उहाको स्रोत बिनाको सम्पत्तिलाई के गर्ने ?’