जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १९:५१

घरकी दुई श्रीमतीले नपुगेर अन्तै लाग्दा युवतीसहित पक्राउ परे नेकपाकै नेता


सल्यान, मंसिर १९ । घरमा दुईटी श्रीमती राखेर पनि चित्त नबुझी तेस्रो पत्नी भित्र्याउँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन ।

बहुविवाहको आरोपमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई प्रहरीले आज पक्राउ गरेको हो । वडाध्यक्ष कुमाईलाई आज बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाई पनि पक्राउ परेकी छन ।

प्रहरीका अनुसार कुमाईले आफ्नो घरमा दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेका थिए । उनका दुई श्रीमतीबाट ४ छोराछोरी छन । दुई जना श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको उल्लेख गरी स्थानीयले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।