नारायणकाजीको ढाल बनेर उभिइन कमानसिंहकी पत्नी इन्द्रमाया : पतिको सत्तोसराप, परपुरुषको जोडदार बचाउ
काठमाडौं, मंसिर २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो जीवन बर्वाद बनाएको भन्दै नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाले लगाउनु भएको आरोपलाई लामाकै पत्नीले पनि पुष्टि गर्नुभएको छ । प्रवक्ता श्रेष्ठले आफ्नो बचाउमा लामाकी पत्नी इन्द्रमाया तामाङलाई बिज्ञप्ती जारी गर्न लगाएपछि ‘नारायणकाजीले मेरो घरवार बर्वाद बनाइदिए, पैसा पनि खाए, स्वास्नी पनि पराई बनाए’ भन्दै पार्टीमा दिएको उजुरीको पुष्टि भएको हो ।
नारायणकाजीले पूर्वराजदुतसमेत रहनुभएका नेकपाका नेता लामाको जीवन बर्वाद पारेको तथ्यसहितको समाचार प्रकाशन भएपछि लामाकी पत्नी तामाङले आज बिज्ञप्ती जारी गर्दै उहाँले आरोप लगाए जसरी नै श्रेष्ठको बचाउ गर्नुभएको छ । कोरोनाले जीवनको अन्तिम प्राण रहँदासम्म अस्पताल नआएको भन्दै काजकिरियासमेत नगर्न सार्वजनिक अपिल गर्नुभएका लामापत्नी इन्द्रमायाले आफू शोकमा रहेको बेला आफ्नो पतिको गलत कामलाई लिएर श्रेष्ठ जस्तो त्यागी नेतामाथि आरोप लगाइएको भन्दै श्रीमानको पीडादायी कथा बाहिर ल्याउनेहरुप्रति भत्सर्ना गर्नुभएको छ । उहाँको बिज्ञप्ती पढदा लामाले नै श्रेष्ठमाथि लगाएको आरोपलाई पुष्टि गर्दछ ।
पूर्वराजदुत लामाले अस्प्तालको बेडमा अन्तिम प्राण त्याग्नुभन्दा केही दिनअघि मात्रै नारायणकाजीले सुसन कर्माचार्यमार्फत आफ्नो पैसा खाएको र पत्नीसमेत पराइ बनाइ दिएको भन्दै सार्वजनिक खुलासा गर्नुभएको थियो । उहाँकी पत्नी इन्द्रमायाले सार्वजनिक रुपमै पतीको दिवंगत पतिको निन्दा र श्रेष्ठको बचाउ गरी सोही आरोप पुष्टि गर्नुभएको हो । कोरोना संक्रमणमा पर्नुभएका पूर्वराजदुत तथा नेकपाका नेता लामाको बुधवार राती निधन भएको थियो । उहाँको बिहीवार अन्तिम संस्कार गरिसकिएको छ ।
पतिको अन्तेष्टि गरेको भोलिपल्टै इन्द्रमायाले श्रेष्ठको बचाउमा पतिको निन्दा गर्नुभएको छ । भर्खरै सार्वजनिक भएको अडियो भिडियोमा नारायणकाजीले लामालाई ‘तपाई मेरो मान्छे, सुसन पनि मेरो मान्छे, इन्द्रमाया पनि मेरै मान्छे’ भन्दै थप कुरा नचर्काउन धम्कीको भाषामा सम्झाउनु भएको तथ्य देखिन्छ । लामाले आफ्नी पत्नीलाई समेत आफू भन्दा टाढा पारेको र आफ्नो २ करोड ५० लाख रुपैया श्रेष्ठले खाएको कुरालाई उनकी पत्नीको बिज्ञप्तीले झनै प्रष्ट पारेको देखिन्छ ।
हेर्नुस लामापत्नी इन्द्रमायाको विज्ञप्ति
मेरो श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद् कमरेड कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छौं । यही बेला म र कमरेड लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु । घटनाबारे सत्य तथ्य म प्रस्तुत गर्छुः
विगत २२–२३ बर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता कहिल्यै भएन । घर ब्यवहार र राजनीतिक जीवनमा दुवै जनाले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एक अर्काको साथ सहयोग रहेकै थियो । हामी दुवै जनाको सधैं ब्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रह्यो । उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो । र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहेँ ।
यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्यौं । सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्यौं । तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभ्एको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्यौं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी प्रक्रिया पुर्याएर हस्तान्तरण गर्यौं ।
तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य ब्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्यलगायतका साथीहरुको कम्पनीले हाम्रो उद्धार नै गर्यो । सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनुभएकै हो । तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही ब्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु । उहाँ हाम्रो यो आर्थिक बिषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुुनुहुन्छ ।
जहाँसम्म हामी दुई जना (श्रीमान श्रीमती) बीचको असमझदारीको कुरा छ, त्यसको एकमात्र कारण श्रीमान(कमानसिंह लामा)को भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । मलाई जति दुःख र पीडा अरु कसलाई हुनसक्छ ? मेरो श्रीमान जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलवाडको बिषय बनाइरहेको देख्दा दुःख लागेको छ । यो दुःखद अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।
इन्द्रमाया तामाङ
प्रतिक्रिया दिनुहोस्