जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १५:०७

नेकपाका संस्थापक महासचिव र सहिद श्रेष्ठको स्मृतिपार्क बनाउन ५ करोड ९४ लाख बजेट निकासा


रामेछाप, जेठ २०

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा पुष्पलाल पार्क निर्माणको लागि ५ करोड ९४ लाख बजेट निकासा भएको छ । दुई बर्ष अघि नै पार्क निर्माणको घोषणा भएपनि जग्गा अधिग्रहण गर्न बजेट नहुँदा काम अगाडि बढन सकेको थिएन । अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयलाई पार्क निर्माणको लागि ५२ रोपनी जग्गाको मुआब्जा दिने बजेट उपलब्ध गराएपछि अब काम अगाडि बढने भएको छ ।

गंगालाल र पुष्पलाल जन्मस्थान रामेछापको भँगेरीमा पुष्पलाल स्मृतिपार्क निर्माण गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले दुई वर्षअघि निर्णय गरेको थियो । पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५२ रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया पूरा गरेर मुआब्जा दिनको लागि बजेट अभावको कारण रोखिएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष देवशकंर पौडेलले पार्क निर्माणको कामले अब गति लिने बताउनुभएको छ । उहाँका अनुसार मुआब्जाको लागि बजेट निकासा भइसकेको छ, जग्गा धनीलाई मुआब्जा उपलब्ध गराएर अब डिपिआरको काम अगाडि बढछ । पार्क निर्माणका लागि आवश्यक पर्ने जग्गा, उक्त स्थानमा रहेका घरगोठ र बोटबिरुवाको क्षतिपूर्तिबापत मुआब्जा वितरण लागिएको हो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘‘पुष्पलाल पार्क निर्माण गरेर रामेछापको भँगेरीलाई राजनीतिक गन्तव्यस्थलको रूपमा विकास गर्छौँ।’ उहाँले पार्कभित्र पुष्पलाल, गंगालाल सहित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुको शालिक राखिने बताउँदै पार्कलाई अध्ययन केन्द्रको रुपमा विकसित गर्न संग्राहलय पनि निर्माण गरिने बताउनुभयो । यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले खातामा पैसा आए लगत्तै केही मुआब्जा वितरणको काम अगाडि बढाइने बताउनुभयो ।