जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ०८:२२

बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई


काठमाडौं, २१ जेठ ।  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताउनुभएको छ । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताउनुभयो ।

“अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।” मन्त्री राईले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’का लागि निजी क्षेत्रको लगानी अपरिहार्य भएको उहाँको भनाइ थियो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग तथा नेपालगञ्ज–सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको सो उद्यानमा विभिन्न पूर्वाधार तयार गरिएका छन् ।