काठमाडौं, पुष १८
भारतमा नेपाललाई समेत अनुकूल मानिएको कोभिसिल्ड खोपको आपतकालिन प्रयोगका लागि अनुमति पाएपछि नेपालले समेत किन्ने प्रयास शुरु गरेको छ । दुई विकल्प अगाडी सारेर खोप किन्ने तयारी भईरहेको छ ।
भारतीय सरकारलाई रकम दिएर सँगै किन्ने वा खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)सँग खरिदन गर्ने गरी पहल भईरहेको कोभिड–१९ खोपविज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बताउनु भयो । शुरुमा कम उत्पादन भएकाले भारतसँगै किन्दा नेपालले पनि पाउने सम्भावना बढि हुन्छ । यी प्रयासहरु जारी रहेको खोप महाशाखाले जानकारी पनि दिएको छ ।
नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । खोप आएपछि सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।
५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई दोस्रो चरणमा खोप लगाइने भएको हो । यो संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन ।
अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरि खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।













प्रतिक्रिया दिनुहोस्