विराटनगर, पुस २२
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ । आज विराटनगरमा आयोजित वृहत कार्यकर्ता भेलामा कमिटी गठन गरेको हो । पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिए पनि पुर्णता भने नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो ।
अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भएपनी केही सीमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताउनुभयो । उँहाका अनुसार एकता पुर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी बिभाग प्रमुख बिनोद ढकालले सपथ ग्रहण गराउँदै अखिलले सँधै विद्यार्थी आन्दोलन र सामाजिक रुपान्तरणको लागि नेतृत्व गर्न निर्देशन दिनुभयो । ‘विद्यार्थी आन्दोलनले नेता जन्माउँछ, विद्यार्थी आन्दोलनको नेतृत्व सँधै अनेरास्ववियुले गर्दै आएको छ’, उँहाले भन्नुभयो, ‘त्यसैले यहि संगठनबाट निखारिनेहरूले नै समाजका सबै क्षेत्रमा अब्बल नेतृत्व गर्ने हो ।’
उहाँले पछिल्लो राजनितिको घटनाक्रमलाई अध्ययन गरि सहि र गलत छुट्टाउनु पर्ने बताउनुभयो । पार्टीभित्रको अन्तर्विरोधको वास्तविकता के हो त्यो बुझ्न सुझाव दिँदै भ्रमबाट समाजलाई मुक्त बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । केही नेताहरूमा निहित स्वार्थ पुरा गर्न पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै केपी शर्मा ओलीलाई हटाउने षड्यन्त्र बनाउन थालेपछि संसद विघटनको अवस्था आएको बताउनुभयो ।
संसदीय दलको बैठक बसेर नेता परिवर्तन गर्ने बाटो हुँदाहुँदै षड्यन्त्रपूर्वक प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तानाबुना बुन्न थालेपछि मुलुकलाई दुर्घटनाबाट जोगाउन नयाँ जनमतमा जानुपर्ने अवस्था आएको पनि उहाँले सुनाउनुभयो । नयाँ जनदेशमा जाने विषय असंवैधानिक नहुने तर्क गर्दै उहाँले अब मुलुक निर्वाचनमा गएको र सरकारले गरेका अभूतपूर्व कामहरूलाई जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
भौतिक पुर्वाधार, सामाजिक, स्वास्थ्य, राष्ट्रियहितका सबै आयाममा अहिले जति कहिले काम नभएको उँहाले बताउनुभयो । अखिलका केन्द्रिय सचिवालय सदस्य गोकर्ण घिमिरेले सबै सदस्यले विद्यार्थीको हकहितसँगै समाजका लागि पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । समाजमा फैलाईने अनेक प्रकारका भ्रमलाई तत्काल चिर्दै अघि बढ्न निर्देशन दिँदै आगामी निर्वाचनमा नेकपा संस्थापन पक्षलाई बिजयी गराई प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रीय नारा सार्थक बनाउनुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्