जनता टाइम्स

२२ पुष २०७७, बुधबार १९:४९

‘प्रधानमन्त्रीलाई दोष दिनेहरु आफ्नो भूमिका पनि आत्मसमिक्षा गर्ने कि !’


काठमाडौं, पुष २२

नेकपा स्थायी कमिटी सदस्य एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटन हुनुको मुख्य कारण दलभित्रका नेताले खेलेको भूमिका रहेको बताउनु भएको छ । उहाले नेकपा सत्तारुढ दल भएपनि यसभित्रका गुट विपक्षी दलजस्तो भएकाले अहिलेको अवस्था आएको उहाले स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रतिनिधिसभा विघटन हुनेको कारण खोल्दै उहाले प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि भन्दै प्रश्न गर्नुभएको छ ।

शंकर पोखरेलले यसरी प्रस्तुत गर्नुभयो प्रतिनिधिसभा विघटनको कारण

नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?

सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,

सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,

विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,

सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,

पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,

पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,

पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले ।

पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो । प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि !