जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार १८:०२

सरकार र व्यवस्था नै अपदस्थ गर्न खोजिएपछि प्रतिनिधि सभा विघटन : गृहमन्त्री बादल


दोलखा, पुष २४

गृहमन्त्री एंव नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले सरकार र व्यवस्था नै अपदस्थ गर्न खोजिएपछि प्रतिनिधि सभा विघटन गरिएको बताउनुभएको छ ।

नेकपा दोलखाले शुक्रबार चरिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले देश र व्यवस्थालाई असफल हुनबाट जोगाउन प्रतिनिधि सभा विघटन गरिएको प्रष्ट पार्नुभएको हो । मन्त्री बादलले सरकार चुनावको तयारीमा लागेकोले प्रतिनिधि सभा पुर्नस्थापनाको औचित्यता समाप्त भईसकेको बताउनुभयो ।

उहाले सबै नेता कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन पनि दिनुभयो । ‘पुरानो संसदको राजनीतिक औचित्य समाप्त भएकोले विघटित संसद पुनस्र्थापनाले देशलाई थप अस्थिरतामा धकेल्छ’, उहाँले भन्नुभयो, ‘संसदको पुनस्र्थापनाले प्रतिगमनलाई नै सहयोग गर्छ, नयाँ संसदले मात्रै देशमा स्थायित्व ल्याउँछ भन्ने निष्कर्षमा पुगेर संसद विघटनका साथै नयाँ जनादेशमा जाने निर्णय भएको छ, अब तपाईहरु चुनावका लागि तयारी अवस्थामा रहनुस ।’ अब नयाँ जनमत सहितको संसद स्थापना हुने बादलको भनाइ छ ।

सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफू पद त्याग्न पनि पछि नपर्ने बताउनुभयो । मन्त्री गुरुङले समाजवादबाट नै समृद्ध नेपालको कल्पना गर्न सकिने भएकाले समाजवाद चहानेहरु एक ढिक्का हुनुपुर्नेमा जोड दिनुभयो । उहाँले समाजवादको नेतृत्व गरेका दुई तिहाइ कम्युनिस्ट सरकारलाई विघटन गर्नका लागि र देशमा राजनीतिक अस्थिरता पैदा गरि प्रतिगमनलाई सहज बनाउने षड्यन्त्र भएकाले निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सचिव एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल विघटित प्रतिनिधिसभा सांसद शान्ति पाख्रिन लगायतले मनतब्य राख्नुभयो ।