जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १०:५२

राजेन्द्र महतोको निश्कर्ष : प्रचण्डलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ


जनकपुर, पुस २८ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले नेकपाबाट अलग भई छुट्टै समुह खडागर्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हजार बर्ष जेल सजाय दिए पनि कम हुने बताउनु भएको छ । संसद विघटनविरुद्ध आयोजित एक कार्यक्रममा नेता महतोले यस्तो घोषणा गर्नुभएको हो ।

युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँडेर हजारौको हत्या गरे । उनलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ, महतोले भन्नुभयो ।राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद गरिएकोसँग तुलना गर्दै महतोले प्रचण्ड चौधरी भन्दा हजारौ गुणा बढी दोषी रहेको बताउनु भयो । रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्डलाई एक हजार वर्ष कैद गर्दा पनि पुग्दैन, महतोले भन्नुभयो ।

नेपालको संविधानमै त्रुटि भएको भन्दै महतोले संसद विघटन त्यसैको परिणाम बताउनुभयो । कार्यक्रममा जसपा नेतृ रेणु यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि गलत भएको ठोकुवा गर्नुभयो । अर्का नेता बृषेशचन्द्र लालले संसद विघटनको सवालमा प्रचण्ड र माधव नेपालले मधेसको मुद्दा सम्बोधन गर्ने, संविधान अपुरो हो र संशोधन गरी मधेसी जनताको अधिकार दिलाउने प्रतिवद्धता नजनाएसम्म संयुक्त रुपमा आन्दोलन गर्न नसकिने बताउनु भयो ।