जनता टाइम्स

२८ पुष २०७७, मंगलवार ११:५९

प्रदेश–१ मा प्रचण्ड–नेपाललाई अर्को आपत : चार सांसदले छाडे साथ


काठमाडौं, पुष २८

नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक विभाजनपछि प्रदेश–१ मा प्रचण्ड–नेपाल पक्षलाई आपत दिनदिनै आईलागि रहेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दता गराएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसद घट्न थालेका छन् ।

३७ जनाको हस्ताक्षर बुझाइएको मध्ये पुष २८ गतेसम्म आउँदा चार सांसदले साथ छाडिसकेका छन् । ९३ सदस्यीय प्रदेश १ का प्रदेशसभामा सभामुख प्रदीप भण्डारीसहित नेकपाका ६७ सांसद छन् । ६७ मध्ये राईविरुद्ध भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरी ३७ सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव पारित गर्न ४७ सांसद आचार्यको पक्षमा हुनुपर्छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये ४ सांसदले आचार्य समूहको साथ छाडेका छन् । सोमवार साँझ झापाबाट निर्वाचित दुई सांसदले समेत आफूहरु नेकपाका दुवै समूहमा नलाग्ने भनी विज्ञप्ति जारी गरेपछि अब अविश्वास प्रस्तावको पक्षमा ३३ मात्र सांसद देखिएका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावको १९ र २० नम्बरमा हस्ताक्षर गरेका झापाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यद्धय श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकी सोमवारबाट वामदेव गौतमको अभियानमा सामेल भएका छन् । उनीहरुले अविश्वास प्रस्तावको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

त्यस्तै अविश्वास प्रस्तावको २९ र ३४ नम्बरमा हस्ताक्षर गरेका क्रमशः उदयपुरकी कला घले र मोरङकी बसन्ती यादवले पनि हस्ताक्षर फिर्ता लिइसकेका छन् । हस्ताक्षरकर्ता ४ जनाले फिर्ता लिइसकेको अवस्थामा अहिले दुवै पक्ष ३३–३३ को अवस्थामा छ । अब एक सांसद जसले तान्न सक्छ उसको संसदीय दलमा समेत बहुमत पुग्नेछ । नेकपा स्रोतका अनुसार अझै केही सांसद राईको पक्षमा खुल्ने तयारीमा छन् । प्रदेश–१को प्रदेशसभाको बैठक माघ ७ गतेबाट बोलाइएको छ ।