जनता टाइम्स

१ माघ २०७७, बिहीबार ०९:२६

देउवाले गरे प्रचण्ड-माधवको प्रस्ताव ठाडै अस्वीकार


काठमाडौं, माघ १ । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भई छुट्टै समुह खडा गर्नुभएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गरेर प्रधानमन्त्री बन्न कांग्रेससभापति शेरबहादुर देउवासँग प्रस्ताव राख्नुभएको छ ।

संसद विघटनपछि चर्को संघर्षमा रहनुभएका नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले बुधवार कांग्रेस सभापति देउवासँग गोप्य भेट गरी चुनावमा होइन, संसद ब्यूताएर प्रधानमन्त्री बन्ने अफर गर्नुभएको हो । प्रचण्ड र नेपालको अफरलाई देउवाले भने ठाडै अस्वीकार गर्नुभएको स्रोतले बतायो । देउवानिकट एक नेताले जनताटाइम्सलाई दिएको जानकारी अनुसार भेटमा देउवाले प्रचण्डको कुरामा आफूहरु बिश्वास गर्न नसक्ने बताउनु भएको छ ।

सभापति देउवाले बिगतमा पनि प्रचण्डसँग सहकार्य गरेको तथ्य स्मरण गर्दै धोका दिएकोले फेरि पुरानै घटना नदोरिने बिश्वास आफूहरुलाईनभएको बताउनु भएको थियो । ‘तपाइहरुको कुनै भर छैन, अहिले एकथोक भन्नुहुन्छ, भोलि अर्कोथोक भन्नुहुन्छ। पहिले पनि धोका दिनुभएकै हो,’ प्रचण्ड माधवलाई देउवाको भनाई थियो, ‘यस्तो धोका दिने काम बारबार नगर्नाेस ।’

देउवाले यसअघि नै चुनावमा जानका लागि आफ्ना कार्यकर्तालाई आव्हान गरिक्नु भएको छ भने प्रचण्ड माधव समुह चुनाव भए आफ्नो पार्टीको सर्वनास हुने निश्कर्षसहित पुनस्थापनाको मागमा उभिएको छ । भेटमा देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि चुनाव लोकतान्त्रिक विधि भएको आफ्नो दलको निश्कर्ष सुनाउदै सहकार्यको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको हो ।