जनता टाइम्स

३ माघ २०७७, शनिबार ११:४६

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, यस्तो भयो कुराकानी


काठमाडौं, माघ ३

भारत भ्रमणको अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा आज विहान उहाँहरुबीच औपचारिक भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताउनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेख्नु भएको छ, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको जानकारी दिएको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ । उहाले विमानस्थलमा अपरान्ह चार बजे पत्रकार सम्मेलनको आयोजना समेत गर्नुभएको छ । विहिवार नयाँ दिल्ली जानु भएका मन्त्री ज्ञवाली शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत स‌ंयुक्त आयोगको बैठकमा सहभागी हुनु भएको थियो ।