जनता टाइम्स

३ माघ २०७७, शनिबार १८:०३

शंकर पोखरेलले खोलिदिए प्रचण्ड-माधव चुनावदेखि तर्सनुको रहष्य


अर्घाखाँची, माघ ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावसँग डराएर नै पुष्पकमल दाहाल र माधव नेपालले निर्वाचन आयोगमा चुनाव रोक्न बिन्ती गरेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । नेकपाले शनिबार सन्धिखर्कमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशका लागि वैशाखमा चुनाव गराउने भन्दा त्यसलाई रोक्न हतारहतार गरेर आयोग पुग्नु दाहाल–नेपाल जनतासँग परीक्षण हुन डराएको प्रष्टै भएको आफ्नो निश्कर्ष पनि राख्नुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनको बेला दाहाल र नेपालको निर्वाचन क्षेत्रमा ओली पुगेर भोट मागिदिनु परेकाले अब आउँदो चुनावमा जनताले मत दिन्छन भन्ने विश्वास नभएर दाहाल–नेपालहरु जनतामा जाने विषयमा डराएको पोखरेलको भनाई छ ।

‘सडकमा गएर पैठेजोरी खेल्ने होइन, आफूलाई जनतासँग परीक्षण गराउनुस, जनताले पत्याउँछन भने बल्ल प्रधानमन्त्री बन्नुहोला । अब प्रतिनिधिसभा पुनःस्थापनाको रोइलो नगर्नुस,’ दाहाललाई सुझाव दिँदै पोखरेलले भन्नुभयो । उहाँले अब ताजा जनादेशमा गएर जनताले जसलाई मत दिन्छन, उसैले सरकारको नेतृत्व गर्ने बताउनु भयो ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा गएकाले अदालतले गरेको फैसला मान्य हुने बताउँदै वैशाखमा हुने चुनावी तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । प्रतिनिधिसभा विघट्न गराउनुको मुख्य भूमिका दाहालको भएको तथ्य पनि उहाँले राख्नुभयो ।