जनता टाइम्स

४ माघ २०७७, आईतवार १०:५९

कोभिडबीच ठूला करदाताले तिरे ३२ अर्ब अग्रिम कर, एनसेल भन्दा नेपाल टेलिकमले बुझायो दोब्बर राजस्व


काठमाडौं, माघ ४ । कोरोना भाइरस (कोभिड १९) महामारीबीच ठूला करदाताले ३२ अर्ब अग्रिम कर (एडभान्स ट्याक्स) बुझाएका छन्। ठूला करदाता कार्यालयका अनुसार अग्रिम करको पहिलो किस्ता तिर्ने अन्तिम दिन पुस २९ गते ३२ अर्ब राजस्व संकलन भएको छ।

पुस महिनामा सो कार्यालयले ४४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। सो कार्यालयका अनुसार सबैभन्दा धेरै एडभान्स ट्याक्स दिने अनुमान गरिएको एनसेलले ९५ करोड ८० लाख मात्रै कर दाखिला गरेको छ। एनसेलले भन्दा धेरै कर नेपाल टेलिकमले तिरेको छ। टेलिकमले १ अर्ब ८० करोड रुपैयाँ कर दाखिला गरेको हो।

यस्तै नेपाल आयल निगमले १ अर्ब अग्रिमकर तिरेको छ। निगमको आम्दानीको नाफाबाट सरकारले २ अर्ब १८ करोड समेत प्राप्ति गरेको छ। यसैगरी राष्ट्र बैंकले सरकारलाई २ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि अग्रिम कर वापतको ३१ करोड रुपैयाँ बुझाएको छ। हाल ठूला करदाता कार्यालयमा ६ सय ८१ वटा करदाता समावेश छन ।