२१ जेष्ठ २०७६, मंगलबार ००:००

राष्ट्रपति भण्डारी मुसलमानको रोजा ‘इफ्तार’ का लागि नेपालगञ्जमा


नेपालगञ्ज, जेठ २१

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आइपुग्नुभएको छ । उहाँ अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुग्नुभएको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बस्नुभएको छ । साँझ साढे ५ बजे यहाँस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुलवाहिद मन्सुरीले जानकारी दिनुभयो । राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनुहुने छ ।

राष्ट्रपति भण्डारी नेपालगञ्ज आएसँगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।