जनता टाइम्स

६ माघ २०७७, मंगलवार २०:५३

सरकारले भन्यो : चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याई स्वीकार्य हुन्न


काठमाडौं, माघ ६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चक्रपथ सडक विस्तारका क्रममा राखिने अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने सरकारको बटमलाइन सुनाउनु भएको छ । उपप्रधानमन्त्री पोखरेल आफैंले प्रधानमन्त्री कार्यालयमा आयोजना गर्नुभएको काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधान बैठकमा यस्तो बटमलाइन सुनाउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले चक्रपथ विस्तारको समस्या देखिएपछि समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहवीचको समन्वयात्मक बैठक आयोजना गर्नुभएको थियो । सो बैठकमा काठमाडौं चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौतिबारे छलफल भएको हो ।

कलंकीदेखि धोबीखोलासम्मको कुल साढे ११ किलोमिटर सडक निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सडक क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिलगायतका पदाधिकारीहरुलाई दोस्रो पटक बोलाएर छलफल गरिएको हो ।

सबैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने प्रष्ट पार्नुभयो । सम्वद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने सरकारको बटमलाइन सुनाउनु भयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुपर्ने धारणा राख्नुभयो भने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सवैको अपनत्व आवश्यक भएको बताउनु भयो ।

छलफलमा काठमाडौं महानगरपालिकाका वडा नं ३ का अध्यक्ष दिपक केसी, वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, नापी विभागका अधिकारीले आआफ्नो क्षेत्रमा देखापरेका समस्या र समाधानका निम्ति भइरहेको पहलवारे जानकारी गराउनु भएको थियो ।