जनता टाइम्स

७ माघ २०७७, बुधबार १४:१६

गलकोट नगरप्रमुखको घरसहित १८ घरमा तोडफोड र चोरी


बाग्लुङ, माघ ७

बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ । गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् ।

शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।

नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।

वडा–५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउँनुहुन्छ । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

आइतबार राति नै वडा–५ कै हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

आइतबार राति एकदेखि दुई बजेको बीचमा तोडफोड गर्न थालेको अध्यक्ष खत्रीले बताउनुभयो । सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेकोे उहाँको भनाइ छ ।

खत्रीले प्रहरी चौकीकै नजिक दैनिकजसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गर्नुभयो । पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख मल्ल बताउनुहुन्छ ।

घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी बढी भएकाले चोरीको विवरण सङ्कलनमा समस्या भएको प्रहरीको भनाइ हरेको छ ।