काठमाडौं, माघ ९
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विकसित घटनाक्रमले आर्थिक सुधारका कार्यक्रममा नकारात्मक असर नपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुअल बैठकमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो भन्नुभएको हो ।
हिजो भएको बैठकमा कोषद्धारा प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ । उहाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने स्पष्ट पार्नुभयो । अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको प्रक्रिया भएको र नेपालमा विगतमा समेत मध्यावधि निर्वाचनको अभ्यास भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनि चिन्तित नहुन आग्रह गर्नुभयो ।
उहाँले नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रम कुनै व्यक्ति वा दल विशेषको लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि यसको निरन्तरता दिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्