जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १४:४३

चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट


रौतहट, जेठ २२

इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए ।

पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो । मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताउनुभयो ।

टाउकोमा चोट लागेका मेयर उपचारपछि घर फर्किनुभएको छ । मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गर्नुभयो । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले बताउनुभयो ।