काठमाडौं, माघ २५
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई पनि बिर्सिनु नहुने बताउनुभएको छ ।कालु पाँडेदेखि विशे नगर्चीसम्मले देशको रक्षामा कुनै न कुनै भूमिका खेलेको उहाँले बताउनुभयो ।नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार कार्यक्रममा बोल्दै
उहाँले भन्नभयो,‘आज हामीले जति प्रशंसा गरे पनि कम हुन्छ । हाम्रा पुर्खाले त किल्ला बनाउँदै लड्दै गरे । कति गाह्रो भयो होला । आजको जस्तो गाडीमा जान पाइन्थ्यो र ? आज निरीक्षणमा जाँदा म हेलिकोप्टरमा जान्छु, गाडीमा जान्छु । हाम्रा पुर्वजले त ज्यान जोखिममा राखेर नदि तर्नुपर्थ्यो । रासन कहाँबाट ल्याए ? लत्ताकपडा कसरी बोके ? कहाँ खाए ? कपडा कहाँ फेरे ? कसरी लडे होलान् ?’
उहाँले थप्नुभयो,‘कसैका सन्तान–दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन । बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्छ । बिसे नगर्चीसमेत धन्यवादका पात्र छन् । यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ ।’
प्रधानमन्त्री ओलीले अमरसिंह थापाले ७४ वर्षमा तरवार लिएर मैदानमा लडेको समेत चर्चा गर्नुभयो । यसैगरि, अर्का महान योद्धा भिमसेन थापालाई हिरासतमा कायरतापूर्वक षडयन्त्रपूर्वक मारिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा । उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन् । उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो । बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो । पाल्पा टिकाउन गाह्रो हुन्थ्यो ।’
उहाँले थप्नुभयो, ‘त्यसैले, पृथ्वीनारायण शाह मात्र होइन, अमरसिंह, वलभद्र, भिमसेन, भक्ति थापा लगायतका सेनापतिहरु पनि उत्तिकै स्मरणीय छन् । कालु पाँडे, दामोदर पाँडेहरु सेनापति भएर पनि तरवार बोकेर आफैं लडाईंका मोर्चामा थिए । उनीहरू आदेश दिने पोजिसनमा थिए । तर, सैनिकहरुलाई आदेश दिएर लडाईमा पठाउने अनि आफू घर बस्ने गरेनन् । ‘आउ सेना’ हो भने, ‘जाउ सेना’ भनेनन् ।
उहाँले इतिहासमा पुर्खाले लडाईं लडेका किल्लाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,हामीले अहिले लडाईं लड्नु छैन, केवल पुर्खाले लडाईं गरेको ठाउँको संरक्षण गर्ने हो । यो लडाईं लड्नेजस्तो कठिन काम होइन,’













प्रतिक्रिया दिनुहोस्