जनता टाइम्स

२६ माघ २०७७, सोमबार ०८:४९

मेलम्ची आयोजना पूरा हुँदै : मध्य चैतमा धारामा पानी छाड्ने तयारी


काठमाडौं, माघ २६ । काठमाडौं उपत्यकावासीले वर्षौंदेखि देखेको मेलम्चीको सपना अब लगभग पूरा हुन लागेको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आगामी चैत १८ गतेसम्मा उपत्यकावासीको धारामा पानी आउने उहाँले दावी गर्नुभयो ।

उहाको दावीलाई उहाले यसरी पुष्टि गर्नुभयो ‘भौतिक संरचनागत हिसाबले अधिकांश पूरा भइसकेको छ, अब सुरुङमा पानी हालेर परीक्षण गर्न मात्र बाँकी छ ।’

सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्छ । पानी भरेको २६ दिनपछि वितरण प्रणाली अन्तर्गतको उपभोक्ताको घरघरमा पुगेका पाइपमा पानी छाडिने सचिव बेल्बासले बताउनुभयो । यसरी धारामा पानी छाडिंदा परीक्षण र वितरण पनि सँगै हुनेछ । ‘करिब २६ ठाउँमा पानी आपूर्तिको परीक्षण पनि गरिसकिएको छ,’ उहाँले भन्नुभयो , ‘उपत्यकाका एक सय ४६ सव डिष्ट्रिक मिटरिङ एरिया (नी वितरण क्षेत्र) हरुमा परीक्षण गर्दै गर्दै लगिनेछ, त्यो नै वितरण पनि हुनेछ ।’

यी क्षेत्रहरुमध्ये कतिपय स्थानमा पानी पु¥याउन अझै एक वर्षसम्म लाग्न सक्ने उहाँले बताउनुभयो । यसअघि बिच्छाइएका पाइपमा ढल, बाटो बनाएर क्षति पुगेका हुन सक्ने अनुमान गर्दै सचिव बेल्बासलेले ती क्षेत्रमा पुनः परीक्षण गरिनेछ । परीक्षणका क्रममा क्षति भएका पाइपलाई दोहोर्‍याएर राख्नुपर्ने भएकाले समय लाग्ने बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि नयाँ प्रणाली स्थापनार्थ गठित आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठका अनुसार मेलम्चीको पानी छाडियो भने चक्रपथभित्रका ३० हजार घरधुरीमा रहेका धारमा तत्काल पानी वितरण गर्न सकिन्छ । यी सबै नयाँ प्रणाली हुन् ।निर्देशनालयले चक्रपथभित्र एक लाख १० हजार घरधुरीमा नयाँ प्रणाली जडान गर्न लागेकामा ३० हजार पूरा भएको हो । यसबाहेक बाँकी घरधुरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का पाइप र धारामा नयाँ अन्तरजडान (इन्टर कनेक्सन) गरी पानी वितरण गरिने श्रेष्ठले बताउनुभयो । मेलम्ची खानेपानी विकास समितिले गत असार तेस्रो साता मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण गरेको थियो । त्यसक्रममा सुरुङ प्रवेश मार्ग (अडिट एक्सेस रोड( को गेट (ढोका) फुटेर एक इन्जिनियरको मृत्यु भएको थियो भने एकजना प्राविधिकलाई बगाएको थियो । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित अडिटको मुख्य गेट (नं)१७० फुटेर निस्केको पानीले आयोजनाको एक इन्जिनियर र एक चालकलाई बेपत्ता पारेको थियो । इन्जिनियर सतिशत गोइत शव पछि फेला परेको थियो भने चालक राधाकृष्ण थापा मगरको अभैm भेटिएको छैन ।

सचिव बेलबासेको अनुसार मेलम्चीको प्रमुख लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले अनुदान सहयोग अन्तर्गत एक विशेषज्ञ टोली मेलम्ची सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँचका लागि पठाएको थियो । उसैको सल्लाहअनुसार हाल अन्तिम सुधारका कार्य भइरहेको छ । सरकारले २०७३ सालको दशैंमा मेलम्चीको पानी आउँछ भनेको थियो । त्यसपछि हिउँदमा आउँछ भने, त्यसमा पनि आएन । यसो गर्दागर्दै अहिले आएर विशेष गरेर वर्तमान सरकारले सत्ता सम्हालेदेखि मेलम्ची आउँछ भन्दा पत्याउन सकिने स्थिति रहेन । ‘अब त काम नै केही बाँकी छैन,’ सचिव बेल्बासले भन्नुभयो, ‘अझ हाम्रो लक्ष्य त यही फेब्रुअरी (माघ–फागुन) भित्र परीक्षण सकी चैतमै वितरण हुने अनुमान थियो ।’

समितिका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार हालसम्म मेलम्चीमा २९ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । यो आयोजनाको पछिल्लो संशोधित लागत अनुमान २१ अर्ब ४७ करोड रुपैयाँ छ । मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ । मेलम्चीमा सँगैको याङ्ग्री र लार्केलाई पनि थपे पछि प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटर गरी ५१ करोड लिटर भित्र्याउने योजना छ ।