जनता टाइम्स

३ फाल्गुन २०७७, सोमबार १६:३५

प्रधानमन्त्री ओलीले गर्नुभयो प्रचण्ड–माधवले सरकारबिरुद्ध गरेको षडयन्त्रको भण्डाफोर


काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टीभित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको प्रष्ट पार्नुभएको छ । भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको आज शिलन्यायस गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलका नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर संसद बिघटनको निर्णय लिइएको प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो ३ वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पनि जानकारी गराउनु भएको छ । त्यसक्रममा उहाँले विकास निर्माण र मानवविकास सूचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताउनु भयो । अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएको उदघोष पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पूरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्याउनु भयो ।

सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टीभित्रबाट असहयोग हुँदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्नुभयो । पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको पनि उहाँले बताउनु भयो ।

‘आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो । झण्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए, सरकारले संसदमा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदूत नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो, सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस भनेर आफू हरदम सचेत रहेको, अनेकौं लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफू सफल हुन नसकेको पनि उहाँले बताउनु भयो । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुःख पूर्ण स्थितिमा सरकार रहेको जानकारी पनि उहाँले दिनुभयो । प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिँडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

संसदीय दलमा आफ्नाविरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उहाँले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै सम्भावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको उहाँको भनाई छ । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । देश अस्थिरता र अस्थायीत्वतर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने सम्भावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुँदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उहाँले प्रष्ट पार्नुभयो । आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्णयका बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको, जनादेशको अवहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको प्रति आफूलाई दुःख लागेको भन्दै खेद ब्यक्त गर्नुभयो । ‘के मुलुकलाई अस्वस्थ्य राजनीतिको गोलचक्करमा फसिरहन दिने ?,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भइसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपुर्ण काममा लागेको बताउनु भयो । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेवार र असंवैधानिक भएको पनि प्रधानमन्त्री ओलीको टिप्पणी छ ।