जनता टाइम्स

७ फाल्गुन २०७७, शुक्रबार ०६:०१

विकासको जग भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने दुष्प्रयासलाई जनताको निर्णयबाटै निस्तेज पारिनुपर्दछ : प्रधानमन्त्री


काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताउनुभएको छ । रासस स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“सञ्चार प्रविधि क्षेत्रमा तीव्र्र विकास भएसँगै नेपालको सञ्चार क्षेत्रमा पनि अभूतपूर्व विविधता देखा परेको यहाँहरु सबैलाई विदितै छ । सञ्चारको क्षितिज फराकिलो हुनाको साथसाथै विकृतिहरु पनि भित्रिएका छन् र यसले गर्दा हाम्रा सामु नयाँ नयाँ चुनौतिहरु उपस्थित भएका छन् । प्रविधिको विकासले सम्भव तुल्याएका थरीथरीका प्लेटफर्महरुको सही र मानवीय उपयोग गर्नुपर्नेमा प्रयोगकर्ताहरुबाट यसको दुरुपयोग भइरहेको तीतो सत्य पनि हामी भोगिरहेका छौं,”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

हरेक दिन बिहानदेखि रातिसम्म राष्ट्रिय र अन्तरराष्ट्रिय समाचार, आलेख, तस्वीर आदि सामग्री सम्प्रेषण गरेर राससले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा श्रव्यदृष्य सेवा विस्तारसहित अझ प्रतिस्पर्धी, तथ्यपूर्ण, विश्वसनीय तथा राज्य र आमजनताप्रति जिम्मेवार, खोजपूर्ण समाचार सामग्रीको एकीकृत सेवा उपलब्ध गराउन राससलाई आग्रह गर्नुभएको छ ।

जनताको अनवरत सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको प्राप्तिलाई संस्थागत गर्दै सरकारले मुलुकलाई विकास र समृद्धिको बाटामा आफूलाई अग्रसर गराइरहेको सन्दर्भमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुख नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण र आवश्यक रहेकामा उहाँले जोड दिनुभएको छ । विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न कठिनाइका बाबजुद राष्ट्रको समृद्धिको अभियानलाई अघि बढाइरहेको तथो आर्थिक–सामाजिक विकासलगायत अनेकौँ क्षेत्रमा सकारात्मक सुधारका सूचक हासिल भएको जनाउँदै प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै छिमेक र अन्तरराष्ट्रिय सम्बन्धमा सुधारसहित विकास र सुशासन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएकोे, कोभिडविरुद्ध खोपको विकाससँगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि नेपालले पनि खोप कार्यक्रम अघि सारेको तथा मुलुकले आर्थिक र सामाजिक गतिविधिमा आफूलाई पुनः क्रियाशील बनाउन थालेको बताउनुभएको छ ।

स्थिर सरकारमार्फत मुलुकको समृद्धि र जनताको सुखका लागि विकासका काम चौतर्फी रुपमा अघि बढिरहेका बेला त्यसमाथि व्यवधान पैदा गर्ने दुष्प्रयासहरु यसबीच नभएका होइनन । भर्खरै बसेको विकासको जगलाई भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने त्यस्तो दुष्प्रयासलाई अब सार्वभौमसत्ता सम्पन्न जनताको निर्णयद्वारा नै निस्तेज पारिनुपर्दछ”, सन्देशमा भनिएको छ ।