जनता टाइम्स

७ फाल्गुन २०७७, शुक्रबार ००:०१

यसरी भागरथीको हत्यारासम्म पुग्यो प्रहरी


यस्तो छ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीको बयान

निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि नेपाल प्रहरीले धेरै आलोचना खेप्दै आयो । सवैले निर्मलाको बिषय उठाइरहेकै बेला सुदुरपश्चिममै फेरि एकाएक भागरथी भट्टको त्यस्तै घटना सार्वजनिक भयो । यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो । मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो ।

जब भागरथीको शव फेला पर्यो मलाई अव आदेश र निर्देशनका भरमा मात्रै रिजल्ट पाउँदिनँ भन्ने लाग्यो । फिल्डमा आफैं खटिएर प्रमाण संकलन नगरे यो घटना अर्को निर्मला प्रकरण बन्ने निश्चित छ भन्ने महसुस भयो । यसपछि आफै फिल्डमा पुग्ने निश्कर्षमा पुगें । बैतडीको लवलेक जंगलमा माघ २२ गते भागरथीको शव फेला पर्यो । म २४ गते घटनास्थलतर्फ लागें । कसरी हुन्छ हत्यारा पत्ता लगाउनुपर्छ भन्ने चिन्ताले सताउन थाल्यो । पहिले त शवको परीक्षण भयो । त्यसपछि नजिक फेला परेका अन्य प्रामाणिक वस्तु सुरक्षित गर्ने दायित्व पूरा गरियो । प्रदेशका एसएसपी सहकर्मी जनकराज पाण्डेको नेतृत्वमा विशेषज्ञ टोली खटाएँ । प्रदेशमै कार्यरत इन्टेलिजेन्स टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) र जिल्लाका अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान सुरु गरे । उनीहरू शंकास्पदको निगरानीमा खटिए ।

सबै टोली खटिँदा पनि घटना यही व्यक्तिले गराएको हो भन्ने सुराक मिलेन । एकातिर प्रदर्शन सुरु भइसकेको थियो, अर्कोतिर काठमाडौंमा व्यापक खबरदारी र प्रदर्शन देखियो । मेरो टिमलाई अनुसन्धान प्रभावित हुने त होइन भनेर चिन्ता हुनु स्वाभाविक थियो । तर, मैले अनुसन्धानमा खटिएका सबै टोलीलाई कुनै हालतमा ‘डिमोरलाइज’ हुने होइन भनें । जे आउँछ तुरुन्तै रिपोर्ट गर्न र अनुसन्धानमा भेटिएका तथ्यलाई जोड्न सम्झाएँ ।

गृह मन्त्रालयदेखि प्रहरी महानिरीक्षकसम्मले घटनाको अनुसन्धानबारे लगातार सोधपुछ गरिरहनुहुन्थ्यो । त्यसले पनि अनुसन्धान गर्न थप ऊर्जा दिन्थ्यो । हामीले अनुसन्धानलाई कसरी साँघुरो पार्ने ? भनेर कमान्ड सेन्टर बनायौं । प्राविधिक पक्ष, सूचना संकलन, आएका सूचनाको विश्लेषण गर्न छुट्टाछुट्टै टोली बनायौं । साधारण सूचनालाई पनि मुख्य सूचनासँग जोड्ने काम गर्यौं । शंकाको घेरामा रहेकाहरूलाई नथुनी सोधपुछ गर्यौं । यसले पनि अनुसन्धानमा सहयोग पुग्यो । अनुसन्धान टुंगोमा पुग्नुमा आन्दोलनरत पक्ष, गाउँपालिका, स्थानीय भद्रभलादमी, पूर्वप्रहरी र बैतडीकै बहालवाला प्रहरीले सहयोग गर्नुभयो । मैले उहाँहरूलाई भीडले अनुसन्धान हुँदैन भनेर सम्झाएँ । तपाईंहरू शान्त बस्नु नै अनुसन्धानले छिटो गति लिनु हो भनेर सुझाएँ ।

हामीले विभिन्न शंकाले हेर्यौं । कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन ? भन्ने लाग्यो । अनुसन्धान त्यतातिर मोड्यौं । भागरथी कति बजे स्कुलबाट बाहिरिइन ? उनीसँग को–को थिए ? यस्ता सूचना बटुल्दै जाँदा दिनेश भट्ट (आरोपी) को व्यवहार शंकास्पद देखियो । भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो । यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो ।
दिनेशलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो । उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान दिनेशसँग नै बढी केन्द्रित भयो । भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन । दिनेश पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए । बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए । हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्यौं । २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्यौं । तर, दिनेशको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन भन्नेमा कुनै दुविधा रहेन ।

यस्ता घटनामा अनुसन्धानका विभिन्न विधि हुन्छन । जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन । हामीलाई शंका त्यहीँ लाग्यो । घरमा पनि दिनेशले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो । फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे । उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए । अन्य प्रमाणले पनि दिनेश नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं । यो घटनामा दिनेश नै संलग्न हो भन्ने पुष्टि भयो ।

भागरथीको बलात्कारपछि हत्याका आरोपी पत्ता लाग्नुमा मलाई मात्रै जस जाँदैन । अनवरत रूपमा १३ दिनसम्म खटिएर प्रमाण संकलनमा लागेका सबैलाई उत्तिकै जस जान्छ । समग्रमा नेपाल प्रहरीलाई नै जस जान्छ

पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो । हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं । त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ ।

भागरथीको बलात्कारपछि हत्याका आरोपी पत्ता लाग्नुमा मलाई मात्रै जस जाँदैन । अनवरत रूपमा १३ दिनसम्म खटिएर प्रमाण संकलनमा लागेका सबैलाई उत्तिकै जस जान्छ । समग्रमा नेपाल प्रहरीलाई नै जस जान्छ ।