जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार २०:३४

नेपालले खरिद गरेको १० लाख मात्रा खोप आइतवार दिउँसो काठमाडौं आइपुग्ने


काठमाडौं, फागुन ८

सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो । उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारण गरिने भएको छ ।

फागुन २३ गतेदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सम्झौता बमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाँडै नै प्राप्त हुने उहाले बताउनु भयो ।

यसअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसविरुद्ध थप १० लाख मात्रा खोप आइतवार भारतबाट आउने जानकारी दिनु भएको थियो । ‘भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ । केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ’, प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको जनसभामा बोल्दै जानकारी दिनु भएको थियो ।

नेपालले बंगलादेशको भन्दा प्रतिखोपमा डेढ डलर कममा खरिद गरेको थियो । नेपालले प्रति डोज ४ डलमा किन्दा बंगलादेशले सोही खोप साढे पाँच डलरमा खरिद गरेको छ । जसले गर्दा नेपालले करिव ३५ करोड रुपैयाँ बचत गरेको छ ।