जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार १७:०१

पार्टी बिभाजनको दुई महिनामै माधवसँग लामो समय सँगै जान नसकिने निश्कर्षमा किन पुगे प्रचण्ड ?


माधव कमरेडसँग लामो समय सँगै जान सकिदैन भन्ने निश्कर्षमा हामी (पूर्वमाओवादी )पुगिसकेका छौं, अध्यक्ष प्रचण्ड कमरेड त जहिल्यै किचकिच मात्रै गर्ने कस्तो मान्छेको फेला परियो भन्न थाल्नुभएको छ

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा बिघटनसँगै पार्टी बिभाजन गरी नेकपा (प्रचण्ड–माधव) समुह गठन गर्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले दुई महिना नबित्दै पुनः पार्टी बिभाजन हुने निश्कर्ष निकाल्नु भएको तथ्य बाहिर आएको छ । आफ्नो समुहको केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला र जनसंगठनको एकता गर्दा नै निकट भबिश्यमा पार्टी बिभाजन हुने देखेर त्यहीअनुसारको भागबण्डा गरी नयाँ पार्टी गठन भएको दुई महिना नपुग्दै बिभाजनको तयारी अघि बढाउनु भएको हो ।

‘प्रचण्ड र माधव कमरेडले एकता मापदण्डमै लामो समय संगै जान सकिन्न, फेरि बिभाजन हुन्छ भन्ने निश्कर्ष निकाल्नु भएको देखियो, त्यही आधारमा योग्यता र क्षमताको आधारमा नभई आफू निकटलाई कमिटीमा भरेर भविश्यमा पार्टी बिभाजन गर्न संख्या पुगोस भनेर भागबण्डा गर्ने काम भयो,’ दाहाल नेपाल समुहको एकता मापदण्डप्रति असन्तुष्टि जनाउँदै एक केन्द्रीय सदस्यले भने । एक साताभित्र एकताको सवै मापदण्ड टुंगो लगाउने भन्दै माधव नेपालको नेतृत्वमा बनेको कार्यदलले पाएको समय भन्दा धेरै पछि मापदण्ड सिफारिश गरी सो समुहले केही दिनअघि मात्रै टुंगो लगाएको छ । जसमा भविश्यमा पार्टी बिभाजन गर्न सकियोस भनेर ५०/५० प्रतिशत हिस्सा भागबण्डा गरिएको छ ।

प्रचण्ड–माधव समुहको सो भागबण्डाअनुसार जिम्मा दिँदा पूर्वएमाले समुहबाट सो समुहतिर लागेका सवै साधरण सदस्यले समेत जिम्मेवारी पाउने छन । पूर्वएमालेका अधिकांश कार्यकर्ता अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मुल नेकपामै रहेको कारण तान्न सकिन्छ कि भनेर यस्तो चलाखीपुर्ण निर्णय गरिएको भने पनि बिभाजनका लागि नै आधार तय गरिएको नेताहरुकै आशंका छ । महाधिवेशनबाट कहिल्यै अध्यक्ष जित्न नसकिने र पार्टीको एकल बहुमत आइरहँदा कहिल्यै प्रधानमन्त्री पनि बन्न नसकिने निश्कर्षका साथ बरिष्ठ नेता नेपाल पूर्वएमालेबाट नेतृत्व गर्दै बिभाजनकारी समुहमा लाग्नुभएको छ ।

पूर्वपदाधिकारीदेखि केन्द्रीय कमिटीका मनोनीत नेताहरुले नेपाललाई साथ दिए पनि कार्यकर्ता तहमा पुग्दा पूर्वएमालेको १० प्रतिशत पनि छैन । यही तथ्य बुझेर नै पूर्वकानून मन्त्री शेरबहादुर तामाङ र उसाकला राई मुल नेकपामै फर्कनु भएको छ । गत निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जित्ने अधिकांश एमाले नेताहरु पनि मुल नेकपामै रहेका छन । समानुपातिकबाट सांसद बनेकाहरु भने नेपाललाई साथ दिएका छन । पूर्वएमालेका लगभग सवै हिस्सा ओलीतिरै लागेपछि केहीलाई पदको लोभ देखाएर तान्ने र केही समयभित्रै पार्टी अलग गरी अध्यक्ष बन्ने गरी प्रचण्डसँग बार्गेनिङ गरेर बिभाजनका लागि सहज हुने गरी नेपालले एकता मापदण्ड बनाउनु भएको बताइएको छ ।

नेपालको यो योजना जानकारी पाएरै माओवादी नेतृ जयपुरी घर्ति मगरले तीन साताअघि आफन्तहरुको भेटमा माधवसँग धेरै समय सँगै जान नसकिने निश्कर्षमा अध्यक्ष प्रचण्डसहितका आफूहरु पुगेको बताउनु भएको थियो । ‘माधवसँग लामो समय सँगै जान सकिदैन भन्ने निश्कर्षमा हामी (पूर्वमाओवादी) पुगिसकेका छौं, अध्यक्ष प्रचण्ड कमरेड त जहिल्यै किचकिच मात्रै गर्ने कस्तो मान्छेको फेला परियो भन्न थाल्नुभएको छ,’ पारिवारिक जमघटमा नेतृ घर्तीको भनाई उधृत गर्दै सहभागी एक सदस्यले जनताटाइम्ससँग भने । ती सदस्यले यस्तो तथ्य खुलासा गरेको केहीसमयमै एकता मापदण्ड आउँदा बिभाजनलाई नै आधार बनाइएको हो ।

प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । प्रचण्ड र माधवले हस्ताक्षर गर्नुभएको ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मै बिभाजन गर्न सहज बनाइएको हो ।

सो मापदण्डअनुसार सवै कमिटीहरुमा अब प्रचण्ड र माधव समुहको ५०/५० प्रतिशत हुने छ । मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०/५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

एमाले र माओवादीबीच एकता हुँदा ६०/४० को अनुपातमा एकता भएको थियो । प्रचण्डले यो सहमति गरेपछि पूर्वमाओवादी समुहभित्र ठुलो आक्रोश पैदा भएको छ भने नेपाल प्रचण्डसँग कुरा नमिले सहज रुपमा ५० प्रतिशत लिएर अर्काे पार्टी खोल्न सकिन्छ भनेर खुसी हुनुभएको छ । पछिल्लो समय नारायणकाजी श्रेष्ठ समेत प्रचण्ड भन्दा माधवतिर बढता आकर्षित हुनुभएको देखिन्छ ।