जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार ०९:१०

सिन्धुपाल्चोकका नेताका परिवार: श्रीमानहरु,ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर


काठमाडौं, फागुन १० । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई प्रचण्ड–नेपाल समूहले विखण्डन गर्न खोजेपछि त्यसको असर असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर देखिएको हो ।

तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लाग्नुभएको छ भने उहाँका श्रीमतीद्वय कुमारी मोक्तान र देवी खड्का प्रचण्ड–माधव पक्षीय नेकपामा लाग्नु भएको छ । तामाङ वागमती प्रदेशसभाकी सदस्य हुनुहुन्छ भने खड्का पहिलो संविधानसभाकी सदस्य हुनुभएको थियो ।मोक्तान मकवानपुरकी नेतृ हुन् भने खड्का दोलखाकी नेतृ समेत हुनुहुन्छ ।

‘राजनीतिक चेतनासहितको दम्पती भएका कारण पार्टी फुटेसँगै श्रीमान–श्रीमती दुईतिर हुनु स्वाभाविक हो’ खेलकुदमन्त्री दावा तामाङले भन्नुभयो ‘पार्टी फरक भए पनि पारिवारिक रुपमा सम्बन्ध सुमधुर छ ।’ श्रीमान–श्रीमती दुईतिर लाग्नुमा भूगोलको प्रभाव भएको बताउनुहुन्छ , नेता श्रेष्ठ । ‘राजनीति गर्ने भएपछि भूगोलको स्थितिले पनि फरक पार्दो रहेछ’ श्रेष्ठले भन्नुभयो, ‘पार्टी फरक भए पनि परिवारमा समस्या भने छैन ।’ अहिलेका सभामुख अग्निप्रसाद सापकोटा समूहबाट पेलिएका तामाङ र श्रेष्ठ ओली पक्षमा लागेसँगै कमजोर भनिएको सिन्धुपाल्चोकमा ओली पक्षीय नेकपा बलियो बनेको उक्त पक्षका नेता एवम् प्रदेशसभा सदस्य सरेश नेपालले बताउनुभयो । सिन्धुपाल्चोककै नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि शनिबार आफ्नो पक्षमा लागेसँग ओली पक्षीय नेकपा हौसिएको छ ।