जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १५:४६

महासंघले स्थानीय सरकारका पदाधिकारीहरुलाई संघीय शुसासन सम्बन्धी तालिम दिदैं


काठमाडौं, जेठ २३

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालीम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीहरूका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि मन्त्री पण्डितले जनता र स्थानीय सरकार बीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी संचालनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । मन्त्री पण्डितले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पुरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतासँग जोडिएर प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न पनि स्थानीय पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष राणाले स्थानीय सरकारसँग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्नुहुँदै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताउनु भयो ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले महासंघसँगको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी गराउनु भयो । संघीय सुशासन सम्बन्धी यो तालीम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार संचालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास समेत राजदूत बेरीले प्रकट गर्नुभयो ।

प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम महासंघले जानकारी दिएको छ ।