१२ फाल्गुन २०७७, बुधबार ००:००

ओलीतिरै फर्कने अन्तिम तयारीमा प्रचण्ड–माधव समुहका ७ सांसद


काठमाडौं, फागुन १२ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने एकसुत्रीय मिसनमा रहनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले आफ्नै सांसदहरुमाथि सुराकी लगाउनु भएको रहष्य खुलेको छ । बिघटन सदर भए सेट्रि भन्दै सडकमा रक्तपात मच्चाउने योजनामा रहनुभएका दुवै नेता प्रतिनिधिसभा पुनःस्थापनालगत्तै हर्षबढाईं गरिरहँदा सात जना सांसद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीतिर फर्कने सूचना पाएपछि सांसदहरुको सुराकीमा आफ्ना मानिस खटाउनु भएको पाइएको हो ।

‘संसद पुनःस्थापना भएलगत्तै प्रचण्ड र माधव कमरेड गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने लाइनतिर देखिनुभएको छ, यही कारण हामी केही साथीहरु अव कम्युनिष्टलाई सकाउने मिसनलाई साथ दिनुहुन्न भन्ने निश्कर्षमा पुगेका छौं, उहाँहरुले सुरारी लगाउनु भएको छ, सच्चिनु भएन भने हामी सात जना जति सांसदको साथ पाउनु हुन्न,’ जनताटाइम्सको सम्पर्कमा आएका एक सांसदले भने, ‘छलफल गरिरहेका छौं, यद्यपी निश्कर्षमा पुगिसकेका छैनौं ।’

आजसम्मको अवस्थामा प्रतिनिधिसभामा नेकपाका कुल १७३ सांसदमध्ये ८८ जना प्रचण्ड–माधव समुहमा छन भने ८३ जना प्रधानमन्त्री ओलीतिर रहेका छन । यस्तै लालबाबु पण्डित र तुलसा थापा तटस्थ बस्नुभएको छ । एक जनाको निधन भइसकेको छ । सभामुख अग्नि सापकोटाले मतदान गर्न पाउनु हुन्न । उनका अनुसार प्रधानमन्त्री ओलीको बिकल्प नेकपाभित्रबाटै हुनुपर्ने सुझाव प्रचण्ड र माधवलाई दिइसकिएको छ ।

नेकपा स्रोतका अनुसार यही सूचना थाह पाएर आज सांसदहरुको मन तलमाथि नहोस र आफूहरुको साथमा रहिरहुन भनेर प्रचण्ड माधव समुहको संसदीय दलको बैठकमा दुवै नेताले प्रधानमन्त्री ओलीतिरका धेरै सांसदहरु आफूतिर आउन लागेको जानकारी दिनुभएको छ । ओलीतिरका धेरै सांसद आउँदैछन भनेर आफूतिरका जान लागेका सांसदलाई रोक्न प्रचण्ड र नेपालले दलमा कार्ड फाल्न भएको हो । ‘माधव कमरेडले ओलीतिरका थुप्रै सांसद आउँदै छन, तपाईहरु ढुक्क हुनुस भन्नुभयो,’ दलको बैठकपछि ती सांसदले जनताटाइम्ससँग भने ।

प्रचण्ड र माधव आज चितवनबाट काठमाडौं आएर सिधै कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेपछि थप अन्य सांसद पनि चिढिएको उनको भनाई छ । ‘हाम्रो हस्ताक्षर दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीबिरुद्ध संसदमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने, प्रचण्डलाई अवको प्रधानमन्त्रीको उम्मेदवार बनाउने अनि अहिले खुसुक्क बुढानिलकण्ठ पुगेर देउवालाई हामीसँग मिल्नुपर्यो, तपाईं प्रधानमन्त्री बन्नुपर्यो भन्ने कुरा त राजनीतिक भएन, इमान्दारिता पनि देखिएन, यो त सरासर बेइमान हो,’ ती सांसदको भनाई थियो ।

प्रचण्ड–माधव समुहले गत पुस ५ गते प्रतिनिधिसभा बिघटनको सिफारिश भएपछि सोही दिन संसद सचिवालयमा प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई अघि सारिएको छ । तर आज बुढानिलकण्ठमा भने देउवालाई नै सहकार्य गरौं, तपाईको नेतृत्वमा हामी मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव प्रचण्ड आफैले गर्नुभएको छ । प्रचण्डले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाएर राष्ट्रपति बनाउने भन्ने प्रस्ताव बिघटनलगत्तै गर्नुभएको थियो । प्रचण्डको सो प्रस्तावपछि पौडेल आफू सांसद नभए पनि राष्ट्रपति हुने भएँ भन्दै पुनःस्थापनाको पक्षमा उभिनुभएको थियो ।

त्यसो त प्रचण्डले आफ्नै समुहका नेता झलनाथ खनाललाई पनि राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाएर राष्ट्रपति बनाउने घाँस हालिसक्नु भएको छ । सोही प्रस्तावका आधारमा नेता खनालले अदालतले बिघटनको निर्णय बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरेलगत्तै राष्ट्रपति बन्न तयार भएको बताउनु भएको छ । तर प्रचण्ड–माधव समुहसँग राष्ट्रपतिबिरुद्ध महाअभियोग पारित गर्ने हैसियत छैन । संबिधानअनुसार सरकारले गरेको सिफारिश कार्यान्वयन गर्दा महाअभियोग लगाउने कुरा आफैमा निकृष्ट हर्कत हुने भएपछि कांग्रेससमेत त्यस्को पक्षमा जान संभव छैन ।