जनता टाइम्स

१५ फाल्गुन २०७७, शनिबार १३:५६

सरकार परिवर्तन हुँदैन, मुलुकको समृद्धिको अभियान अझ गतिका साथ अघि बढ्छ : सञ्चार मन्त्री गुरुङ


काठमाडौं, फागुन १५ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि त्यसलाई सफल हुन नदिने दावी गर्नुभयो ।

“मुलुकलाई अघि बढन नदिने केही तत्वहरु सम्माननीय प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरिरहेका छन”, शनिबार काठमाडौंमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन)को २७औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले भन्नुभयो , “ढुक्क हुनुहोस् सरकार परिवर्तन हुँदैन, मुलुकको समृद्धिको अभियान अझ गतिका साथ अघि बढ्छ ।” मन्त्री गुरुङले पुनस्थापित प्रतिनिधिसभामा विश्वासको मत लिएर अघि बढन आफूहरु सक्षम हुने दाबी गर्नुभयो ।

उहाँले सरकार परिवर्तन हुने सपना नदेख्न पनि पटकपटक चेतावनी समेत दिनुभयो । मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन क्यान फेडेरेसनलगायतका निजी क्षेत्रलाई आह्वान गर्नुभयो। सरकारले वडा तहसम्म इन्टरनेट सेवा पुर्याउने नीतिगत निर्णय गरिसकेको स्मरण गराउँदै उहाले सो निर्णयलाई कार्यान्वयन गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री गुरुङले सूचना प्रविधिको उपयोग सबैले गर्न पाउने गरी पूर्वाधार विकासको काममा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।